गृह मन्त्रालयमा भएको आगजनीले ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट...
२९ असोज, काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट गृह मन्त्रालयमा रहेका करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलासा भएको छ ।
गृह मन्त्रालयका सहायक प्रवक्ता तथा उपसचिव रविन्द्र आचार्यका अनुसार अभिलेखमा रहेका सबै कागजातसँगै ती अभिलेखहरूको डिजिटाइजेसनका क्रममा बनाइएका डिजिटल प्रतिलिपिहरू समेत नष्ट भएका छन् ।
“कागजात स्क्यान गर्दै डिजिटाइज गर्ने काम चलिरहेको थियो,” आचार्यले भने, “तर स्क्यान गरिएका फाइल राखिएका कम्प्युटर र ल्यापटपसमेत जलेका छन् ।”
गत वर्ष सरकारले अंगिकृत नागरिकताको सम्पूर्ण अभिलेख डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेको थियो । त्यस क्रममा करीब १७ हजार विवरण इन्ट्री भइसकेका थिए ।
नेपालको कानुन अनुसार, नेपाली महिलाले विवाह गरेका विदेशी पुरुष र नेपाली पुरुषले विवाह गरेकी विदेशी महिलाले अंगिकृत नागरिकता पाउँछन् । यस्तै, नेपालमै स्थायी रूपमा १५ वर्ष बसोबास गरेका विदेशी नागरिकहरूलाई पनि गृह मन्त्रालयको निर्णयबाट यस्तो नागरिकता प्रदान गरिन्छ ।
यस्ता सबै अभिलेख गृह मन्त्रालयमै रहेको र आगलागीका कारण पूर्ण रूपमा जलेको मन्त्रालयले जनाएको छ ।
यस घटनापछि नागरिकता अभिलेख पुनःस्थापना र डिजिटाइजेसनको कार्यमा ठुलो चुनौती देखिएको छ । गृह मन्त्रालयले अब बाँकी जिल्लाबाट भएका अभिलेख र पुराना प्रतिलिपिहरू संकलन गरी नयाँ प्रणालीमा पुनःसूचीकरण गर्ने तयारी थालेको बताएको छ ।
Redirecting... Please wait.

Comments
Post a Comment