शंकरलाई विष्णुको कटाक्ष- ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति..
काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज कटाक्ष, सवाल–जवाफ र राजनीतिक तानातानबीच सम्पन्न भयो। बैठकको मूल उद्देश्य केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने भए पनि, छलफलका क्रममा नेताहरूबीच आन्तरिक असन्तुष्टि खुल्न पुगेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको प्रशंसा गर्दै भने, “पार्टी संकटमा परेका बेला अरू मौन बस्छन्, महेश बोल्छ। उही बहादुर नेता हो।”
ओलीको यो भनाइ त्यसबेला आएको हो, जब उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बस्नेतको चर्को अभिव्यक्ति र जनताप्रति उग्र व्यवहारले पार्टीलाई फाइदा नपुर्याउने भन्दै प्रश्न उठाएकी थिइन्।
स्रोतका अनुसार, जेन–जी विद्रोहका कारण प्रधानमन्त्री पद त्यागेर १० दिन सैनिक ब्यारेकमा बस्नुपरेका ओलीका लागि बस्नेतले भक्तपुरको गुन्डुमा अस्थायी घरको व्यवस्था गरेका थिए। अहिले ओली त्यही घरबाट भेटघाट, राजनीतिक सल्लाह र पार्टी बैठक गरिरहेका छन्। बस्नेतले उनलाई स्थायी निवासको सार्वजनिक प्रस्तावसमेत गरेका छन्।
बैठकमा नेता घनश्याम पौडेलले संगठनको वास्तविक अवस्थाबारे कडा टिप्पणी गरे। उनले भने, “ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति बुझिँदैन। तल कार्यकर्ता स्तरमा ठूलो निराशा छ।” पौडेलको टिप्पणीले पार्टीभित्रको असन्तुष्टि र भ्रमको संकेत दिएको बुझिएको छ।
त्यसपछि महासचिव शंकर पोखरेलले ‘प्रतिगमन आधा सच्चियो’ भन्ने अघिल्लो निष्कर्ष सम्झिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि अप्रत्यक्ष टिप्पणी गरेका थिए। उनका भनाइमा, “त्यो समयमा निर्णय लिँदा पार्टीभित्र एकता होइन, अवसरको राजनीति हावी भएको थियो।”
बैठकमा कुनै औपचारिक निष्कर्ष नआए पनि नेताहरूबीचको मतभेद खुलेर सतहमा आएको स्पष्ट भएको छ। राजनीतिक विश्लेषकहरूको मूल्याङ्कन छ — जेन–जी आन्दोलनपछि एमालेभित्र आत्मसमीक्षा भन्दा बढी आन्तरिक शक्ति सन्तुलनको खेल सुरु भएको छ।
Redirecting... Please wait.

Comments
Post a Comment