उपत्यकाबाट १३२ जना पक्राउ, कस्ता-कस्ता व्यक्ति समातिए ?
कात्तिक, काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेहरूविरुद्ध प्रहरीले कडाइका साथ कारबाही थालेको छ। आन्दोलनको सुरुदेखि हालसम्म काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुर—बाट १३२ जना व्यक्तिहरू पक्राउ परेका छन्।
कर्तव्य ज्यानदेखि लिएर हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मका विभिन्न अभियोगमा पक्राउ परेका ती व्यक्तिहरूमाथि अहिले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हालसम्म काठमाडौंबाट मात्रै ९८ जना पक्राउ परेका छन्।
"यीमध्ये ६ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ," भट्टराईले बताए। "जसमध्ये ४ जना प्रहरी हत्या अभियोगमा र २ जना आपराधिक उपद्रवका अभियोगमा रहेका छन्।"
भट्टराईका अनुसार हाल पनि परिसरको हिरासतमा जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न २२ जना रहेका छन्।
केहीलाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि उनीहरूविरुद्धको मुद्दा प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पनि जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ।
परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार, “हतियारसहित पक्राउ परेका एक जना र लुटपाटमा संलग्न एक भारतीय नागरिक गरी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।”
हिजो मात्रै ललितपुर प्रहरीले हतियारसहित २३ वर्षीय शिवकुमार विकलाई पक्राउ गरेको थियो। खोटाङको साकेला गाउँपालिका–१ निवासी विक जेनजी आन्दोलनको क्रममा उपत्यकामा सक्रिय रहेको आरोपमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसरहरू र विभिन्न वृत्तहरूको संयुक्त टोलीले ती व्यक्तिहरूलाई निगरानीमा राख्दै कारबाही गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार, हाल पनि तोडफोड र लुटपाटमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको छ र पक्राउ कार्य निरन्तर जारी रहनेछ
Redirecting... Please wait.

Comments
Post a Comment