सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित...
२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय लिन बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।
सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा बसेको छलफलमा अन्य दलका शीर्ष नेता सहभागी भए पनि रास्वपाबाट कोही पनि सहभागी भएनन् ।
रास्वपाका नेता सन्तोष परियारका अनुसार पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै तय भएकाले सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसकिएको हो । उनले भने, “पार्टीको काम र बैठक भएकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएका हौं।”
रास्वपाले यसअघि नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग नगर्ने स्पष्ट निर्णय गरिसकेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपा अब पूर्ण रूपमा चुनावको तयारीमा केन्द्रित छ । उनले भने, “२३ भदौको आन्दोलनपछि नै हामीले फ्रेस म्यान्डेटमा जानुपर्ने निर्णय गरेका थियौं, अहिले त्यसैको तयारी भइरहेको छ।”
रास्वपाको केन्द्रीय समितिले २१ फागुनमा हुने आगामी चुनावका लागि बाचा पत्र (म्यानिफेस्टो) तयार पार्ने जिम्मा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिलाई दिएको छ ।
प्रवक्ता झा भन्छन्, “हामी अब चुनावको तयारीमा जुटिसकेका छौं । बाचा पत्र लेखनको काम तीव्र रूपमा अगाडि बढिरहेको छ।”
Redirecting... Please wait.

Comments
Post a Comment