रवि, बालेन र कुलमान : बन्लान् कागामे, हुभर र लि क्वान ?
कल्पना गर्नुस्, जम्मा ७० लाख जनसंख्या भएको एउटा देशमा १०० दिनभित्रै १० लाख मानिसको निर्मम हत्या हुन्छ । सडक र घरआँगन रगतले लतपतिन्छन्, मानिसहरू एकअर्कामाथि विश्वास गर्न डराउँछन् र राज्य संरचना पूर्ण रूपमा ध्वस्त हुन्छ । यस्तो त्रासदीको कल्पना मात्रै गर्दा पनि शरीर सिरिङ्ग हुन्छ । तर यो कुनै कल्पनाको कथा होइन, अफ्रिकी देश रुवाण्डाले सन् १९९४ मा यही यथार्थ भोगेको हो।
१०० दिनको नरसंहारले रुवाण्डालाई असफल राष्ट्रको सूचीमा धकेलेको थियो । दश लाखभन्दा बढी नागरिकको हत्या, जातीय घृणा, आपसी अविश्वास, शून्य अर्थतन्त्र, अन्तर्राष्ट्रिय समुदायको दबाब र जताततै खरानीको थुप्रो—यही अवस्थाबाट रुवाण्डाले आफ्नो यात्रा सुरु गरेको थियो ।
असफल राष्ट्रबाट सफल राष्ट्रतर्फको यात्रा
नरसंहारपछिको रुवाण्डा विश्वकै सबैभन्दा कमजोर राष्ट्रमध्ये एक मानिन्थ्यो । तर आज, त्यसै देशलाई विश्वले ‘अफ्रिकाको सिंगापुर’ भनेर चिन्छ । रुवाण्डा अझै पूर्ण विकसित राष्ट्र भइसकेको छैन, तर त्यो दिशामा तीव्र गतिमा अघि बढिरहेको छ ।
तीव्र आर्थिक वृद्धि, औद्योगिकीकरण, कृषिमा आधुनिकीकरण, प्रविधिमा लगानी र सुशासनमा कठोरता—यी सबैले रुवाण्डालाई अफ्रिकाको सफल राष्ट्रको रूपमा स्थापित गरिसकेको छ ।
रुवाण्डाले सन् २०५० सम्म अतिविकसित राष्ट्र बन्ने स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य मात्रै होइन, त्यसलाई पूरा गर्ने योजनासहितको निरन्तर कार्यान्वयन पनि भइरहेको छ ।
नेपाल र रुवाण्डा : दुई दशक, दुई फरक परिणाम
नेपालले पनि झण्डै उस्तै समयावधि पार गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्व, २०६३ सालको राजनीतिक परिवर्तन र नयाँ संविधानको जगमा टेकेर सुरु भएको नेपालको लोकतान्त्रिक यात्रा अब २० वर्ष नजिक पुग्न लागेको छ । तर प्रश्न उठ्छ—के नेपाल लयमा आएको छ ?
रुवाण्डा र नेपालको यात्रा तुलना गर्दा गहिरो अन्तर देखिन्छ।
रुवाण्डाले दीर्घकालीन राष्ट्रिय दृष्टि बनायो, नेपाल बहसमा अल्झिरह्यो ।
रुवाण्डाले परिणामलाई प्राथमिकता दियो, नेपालले घोषणालाई ।
रुवाण्डाले आन्तरिक उत्पादन र आत्मनिर्भरता रोज्यो, नेपालले श्रमशक्ति विदेश पठाउने बाटो ।
रुवाण्डामा कानूनको डर नागरिकले मान्छन्, नेपालमा कानून आफैँ डराएर बसेको देखिन्छ ।
रुवाण्डामा राज्य संयन्त्रमा अनुशासन छ, नेपालमा अनुशासन मुख छोपेर हिँड्नुपर्ने अवस्थामा छ ।
सफलता कुनै चमत्कार होइन
रुवाण्डाको सफलतालाई चमत्कार भन्न मिल्दैन । यो न त भाषणको परिणाम हो, न त संयोगको ।
यो कठोर निर्णय, अनुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र निरन्तरता को नतिजा हो ।
नरसंहारपछि रुवाण्डाले भावनामा होइन, नीतिमा चल्ने निर्णय गर्यो । जातीय पहिचानभन्दा राष्ट्रलाई माथि राखियो । विकासका मुद्दामा राजनीति होइन, राष्ट्रिय सहमति खोजियो । नेतृत्वले लोकप्रियभन्दा पनि सही निर्णय गर्न हिम्मत गर्यो ।
नेपालका लागि रुवाण्डाको सन्देश
रुवाण्डाको कथा नेपालका लागि ऐना हो ।
यो कथा पीडाको मात्रै होइन, सम्भावनाको पनि कथा हो ।
यदि नरसंहारबाट उठेको देशले दुई दशकमा आफूलाई विश्व मानचित्रमा उभ्याउन सक्छ भने, राजनीतिक संक्रमण पार गरिरहेको नेपाल किन सक्दैन ?
नेपाललाई अब बहस होइन, निर्णय चाहिएको छ ।
नारा होइन, कार्यान्वयन चाहिएको छ ।
अवसरको खोजी होइन, अनुशासन र इमानदार नेतृत्व चाहिएको छ
Redirecting... Please wait.
14:58
Comments
Post a Comment